‘विश्वासको मत लिने, नलिने विषयमा छलफल भइरहेको छ’

‘विश्वासको मत लिने, नलिने विषयमा छलफल भइरहेको छ’ Ramaroshan
२०८२ असार २६ गते
‘विश्वासको मत लिने, नलिने विषयमा छलफल भइरहेको छ’

धनगढी,२६ असार । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमबहादुर शाहले आफूले विश्वासको मत लिने वा नलिने विषयमा कानुनी बहस भइरहेको बताउनु भएको छ ।

कञ्चनपुरको पुनर्वास नगरपालिकामा आयोजित एक कार्यक्रममा उहाँले नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेपछि विश्वासको मत लिने, नलिने विषयमा कानुनी रुपमा छलफल भइरहेको बताउनुभएको हो । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरी बर्खास्तमा परेपछि नाउपाले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

संसदीय व्यवस्थामा सत्ता साझेदार कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पद्मा रहि रहन सरकार प्रमुखले विश्वासको मत लिनुपर्ने प्रावधान छ । तर, नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिँदा मुख्यमन्त्रीसँग अझै स्पष्ट बहुमत रहि रहेकाले विश्वासको मत लिन नपर्ने चर्चा पनि चलिरहेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै शाहले प्रदेशमा नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर गठबन्धन सरकार बनाएको बताउनुभयो । उहाँले सरकारमा अन्य पार्टीलाई सहभागी गराइएको भन्दै थप्नुभयो,“सरकारलाई दिएको समर्थन फिर्ता लिएको नागरिक उन्मुक्ति पार्टी मन्त्रीपरिषद्मा फर्किने मलाई विश्वास छ ।”

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले प्रधानमन्त्री केपी शर्मा ओली र आफ्नो पार्टीका सभापति शेरबहादुर देउवालाई भेटेर सरकारकै विषयमा कुराकानी गरेको मुख्यमन्त्रीको भनाइ थियो । नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपछि असार २२ गते मुख्यमन्त्री शाह आफैले पनि बर्दियामा संरक्षक चौधरीसंग भेटघाट र छलफल गर्नु भएको थियो ।